टरिगाउँ खानेपानीमा एमालेबाट सचिव, एक सदस्य आउदा अरु सबैमा कांग्रेस-माओवादी गठबन्धनको जित
तुलसीपुर । तुलसीपुर १२ मा रहेको टरिगाउँ हरीपौरा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको अध्यक्षमा डिल्ली बहादुर बस्नेत विजयी भएका छन । कांग्रेस र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका बस्नेत २ सय ६२ मत ल्याई अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत पुष्कर भण्डारीले जानकारी दिए । अध्यक्षका प्रतिस्पर्धि एमालेका उम्मेदवार देव बहादुर डाँगीले २ सय ९ मत ल्याएका थिए भने स्वतन्त्रका शरद वलीले १ सय मत ल्याएका थिए ।
शुक्रवार राती सम्पन्न भएको अन्तीम मत परीणाम अनुसार एमालेले सचिव र एक सदस्य बाहेक सबै पदमा कांग्रेस माओवादीको प्यानल निर्वाचित भएको छ । उपाध्यक्षमा डिला केसी २ सय ३४ मत ल्याई विजयी हुदा एमालेबाट कमला खत्रीले २ सय २७ मत ल्याउदा स्वतन्त्रबाट मोतीकला ओलीले ६८ मत ल्याईन ।
यस्तै, सचीवमा नेकपा एमालेका खगेन्द्र अधिकारी २ सय ५८ मत ल्याई विजयी भएका छन । कांग्रेस माओवादी प्यानलका हरीचरण चौधरीले २ सय १२ मत ल्याउदा स्वतन्त्रका टंक नेपालीले ६५ मत ल्याएका थिए । कोषाध्यक्षमा कांग्रेस माओवादी प्यानलका श्याम कुमार आचार्य २ सय ७४ मत ल्याई निर्वाचित हुदा एमालेका खोपीराम डाँगीले २ सय २१ मत ल्याएका थिए । स्वतन्त्रका चुर्ण बहादुर चौधरीलाई ५९ प्राप्त भएको थियो ।
यस्तै महिला सदस्यहरुमा कांग्रेस माओवादी प्यानलबाट तुलसी केसि २ सय १९, सावित्री भण्डारी खड्का २ सय ३९ मतका साथ विजयी भएका छन । खुल्ला सदस्यमा एमालेबाट प्रचण्ड अधिकारी १ सय ९८,कांग्रेस माओवादी प्यानलका गजाधर चौधरी २ सय ५ र पुर्ण बहादुर ओलि २ सय २८ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।
वडा नम्बर ११ र १२ का गरी कुल ७ सय १३ मतदाता रहेको खानेपानी संस्थामा ६ सय १२ मत खसेको थियो ।




तपाईंको प्रतिक्रिया