पुस ४ गतेदेखि तुलसीपुर महोत्सव संचालन हुँदै

 मङि्सर १५, २०८२

दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले प्रथम घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि–व्यापारिक तथा प्रविधि प्रदर्शनी महोत्सव संचालन गर्ने भएको छ । तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस ४ गतेदेखि १९ गतेसम्म तुलसीपुर उपमहानगरपालिका–६, घोराही रोडमा महोत्सव सञ्चालन गर्न लागेको महासंघका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।

महासंघले लामो समयदेखि व्यवसायमा देखिने नविनतम चुनौतीहरूको समाधान, युवा उद्यमीलाई स्वदेशमै उद्यम सञ्चालन गर्न प्रेरणा, र पलायन रोकथामलाई लक्ष्य बनाएर व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन गर्दै आएको छ । महासंघले ७ वटा उद्देश्य पुरा गर्नका लागि महोत्सव संचालन गर्न लागेको बताएको छ ।

जसमध्ये पहिलो प्रथामिकतामा तुलसीपुरको पातुखोलामा बिहान संचालन हुने हाटबजारलाई व्यवस्थित गर्ने रहेको छ । हाटबजारमा आउने कृषक र उपभोक्ताको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गर्ने पहिलो उद्देश्य रहेको अध्यक्ष केसीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

त्यसैगरी तुलसीपुरको गौरवको योजनाको रुपमा रहेको औद्योगिक ग्रामलाई स्थानीय सरकार संगको सहकार्यमा अघि बढाउने, आगजनिबाट हुने ठुलो जनधनको क्षेतीलाई न्युनिकरण गर्न स्थानीय सरकारसंगको साझेदारीमा निःशुल्क रिफिलको ब्यवस्था गर्ने, संस्थाले आफ्नै भवनवाट सम्पुर्ण गतिविधहरु सञ्चालन गर्न उपयुक्त स्थान छनौट गरी भवन निर्माण गर्ने लगायतका उद्देश्यहर रहेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष ओपेन्द्र बस्नेत, सचिव जेएन सागर, नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका सचिव जगदिश भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्सका कोषाध्यक्ष लोकेन्द्र वली लगायतको सहभागिता रहेको थियो ।  पत्रकार सम्मेलनको सहजीकरण महासंघका महासचिव भद्र वलीले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया