सल्यानमा बाघको आक्रमणबाट महिलाको मृत्यु

 पुष २५, २०८२

सल्यान । सल्यानको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । घर नजिकै रहेको हरियाली सामुदायिक जंगलमा घाँस–दाउरा काट्न गएकी ४२ वर्षकी धनसरी रावतलाई बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरी जंगलतर्फ तानेर लगेको खबर पाएपछि प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा जंगलमा मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

खबर पाएलगत्तै घुइयाबारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा प्रहरी टोली र स्थानीय जंगलमा खोजी गर्न गएका थिए । स्थानीयले आधा शरिरको भाग खाएको अवस्थामा धनसरीको शव फेला पारेका थिए । घटना स्थल घर देखि करिब ५ सय मिटरको दुरीमा पर्दछ । घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने प्रहरी र सम्बन्धित निकायले आवश्यक अनुसन्धान तथा सुरक्षा सतर्कता बढाएको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया