देउवा भन्छन् : ‘राजनीतिमा पाउनुपर्ने सबै पाएँ, अब देशलाई दिने समय हो’
भालुवाङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पाँचपटक प्रधानमन्त्रीसहित विभिन्न जिम्मेवारी सम्हालिसकेको उल्लेख गर्दै अब बाँकी जीवन देश र लोकतन्त्रको सेवामा बिताउने बताएका छन् ।
भालुवाङमा आयोजित नेपाली कांग्रेस देउवा पक्षको नियमित १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफूले राजनीतिक जीवनमा प्राप्त गर्नुपर्ने सबै उपलब्धि हासिल गरिसकेको बताए ।
‘मैले पाउने सबै पाइसकेँ । पाँचपटक प्रधानमन्त्री भइसकेँ । त्योभन्दा पाउने के हो ? अब मैले देशलाई दिने हो,’ उनले भने । उनले आफू बाँचुन्जेल देशको सेवा र लोकतन्त्रको विकासका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई कसैले कमजोर बनाउन नसक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
देउवाले जेनजी आन्दोलनका क्रममा आफू जोगिएको प्रसंग पनि कार्यक्रममा सुनाए । ‘मलाई जेनजीहरूले बचाएको कुरा सत्य हो । झन्डै मारिसकेका थिए । सुरक्षा निकाय नभएको भए हामी बाँच्ने पनि थिएनौँ,’ उनले भने ।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायतले सम्बोधन गरेका थिए ।
अधिवेशनमा विभिन्न जिल्लाका नेताहरूले जिल्लाको राजनीतिक अवस्था, पार्टी संगठनको अवस्था र आगामी रणनीतिबारे आ–आफ्ना धारणा राखेका थिए ।
प्रदेश अधिवेशन समिति संयोजक गेहेन्द्र गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


तपाईंको प्रतिक्रिया