वामपन्थीसँग तालमेल गर्दा भोट राम्रो आउँछ भन्ने बुझाइमा नेकपा पुगेको छ : पोखरेल
तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी दलहरूबीच चुनावी तालमेल गर्दा राम्रो मत आउने बुझाइमा नेकपा पुगेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । यद्यपि, छलफलले अहिलेसम्म कुनै निष्कर्ष निकाल्न नसकेको उहाँले स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा जोड दिँदै आगामी वैशाखभित्रै निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गर्नुभयो । प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने नाममा स्थानीय तहको निर्वाचन पछि धकेल्दा जनप्रतिनिधिविहीन अवस्था सिर्जना हुने र त्यसले स्थानीय सरकारलाई कमजोर बनाउने उहाँको तर्क थियो ।
यसैगरी, पोखरेलले वैदेशिक ऋणबारे विगतमा नकारात्मक भाष्य निर्माण गर्नेहरू नै अहिले ऋण प्राप्तिलाई उपलब्धिका रूपमा प्रचार गरिरहेको टिप्पणी गर्नुभयो । भारतले नेपाललाई दिएको दुई खर्ब रुपैयाँ ऋण अनुदान नभई सर्तसहितको ऋण भएको उल्लेख गर्दै उहाँले ऋणका सर्तका कारण विकास निर्माणका काममा जटिलता आउन सक्ने बताउनुभयो ।
दाङमा एक्जिम बैंकको ऋणबाट घोराही–तुलसीपुर सडक निर्माण गर्न खोज्दा सर्तका कारण काम अघि बढ्न नसकेको र ठेक्का रद्द गर्नुपरेको उदाहरणसमेत उहाँले प्रस्तुत गर्नुभयो ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट उपलब्ध गराउने विषयमा सहमति हुन सक्ने सम्भावनालाई सम्झौता भइसकेको जसरी प्रचार गर्न नहुने उहाँको भनाइ थियो । एयर रुटका विषयमा सहमति प्राप्त भए लुम्बिनी प्रदेशसहित समग्र नेपालका लागि ठूलो उपलब्धि हुने पोखरेलले बताउनुभयो ।
प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाले दाङका प्रचार विभाग प्रमुख सङ्गीत बस्यालले गर्नुभएको थियो ।


तपाईंको प्रतिक्रिया