शंकर पोखरेलको संकल्प पत्र सार्वजनिक, दाङ रूपान्तरणको मुख्य एजेन्डा
दाङ । नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले “दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल” मूल नारासहित विस्तृत र बहुआयामिक संकल्प पत्र सार्वजनिक गरेका छन् । संकल्प पत्र सार्वजनिक गर्दै उनले दाङ अहिले “टर्निङ पोइन्ट” मा उभिएको उल्लेख गर्दै अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पछाडि फर्कने बीचको छनोट भएको बताए ।
पोखरेलले आफूले अघि सारेका प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गर्दै अधुरा योजना सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरेका छन् । उनले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरिएको उल्लेख गरे । संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको, राजधानीको गुरुयोजना निर्माण गरी प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरिएको उनले बताए । पोखरेलले दाङको दीर्घकालीन पूर्वाधार विकासको आधार तयार पारिएको दाबी गर्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै निर्माण सम्पन्न गर्ने, घोराही–लमही सडक खण्डअन्तर्गतको अर्जुनखोला–मसौट तथा चौपट्टा खण्डका चारलेन सडकको डीपीआर तयार गरिएको र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढेको र डिपिआर तयारी तीव्र रूपमा भइरहेको उनले उल्लेख गरे । ग्वार खोला हाई ड्याम र माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन र अध्ययन कार्य अघि बढाइएको पनि उनको भनाइ छ । स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको उनले बताए । लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको तथा यसै आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको र उच्च प्राविधिक शिक्षाको आधार तयार गरिएको उनको भनाइ छ । कृषि, खानेपानी र सामाजिक पूर्वाधारतर्फ स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत उत्पादन वृद्धि र किसानको आयवृद्धिमा उपलब्धि हासिल भएको उनले बताए । दाङमा खानेपानी तथा सरसफाइ क्षेत्रमा करिब दुई अर्ब लगानी भएको र जिल्ला अस्पतालहरूलाई ५० शैयासम्म स्तरोन्नति गरिएको उल्लेख गरे । अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट, धारपानीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको र भुमिहीनलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी काम सुरु गरिएको उनले जानकारी दिए ।
हाल लमही–घोराही–तुलसीपुर फोरलेन सडक पुनः सुरु भई तीव्र गतिमा अघि बढिरहेको, घोराही–५ धर्नास्थित नेत्रलाल पार्क निर्माणाधीन रहेको तथा वडा नं. १६ मा नेत्रलाल बहुउद्देश्यीय रंगशालाको निर्माण सुरु गरिएको उनले बताए । सेवार, हापुर र कालाखोलामा चारलेन पुल निर्माण भइरहेको उल्लेख गर्दै उनले मध्य दाङको सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य रहेको धारणा राखे । आफू राजनीतिक रूपमा स्थापित भइसकेको अवस्थामा अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै पोखरेलले केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने बताए । कोइलाबास नाका सञ्चालन, औद्योगिक क्षेत्र विस्तार र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै उनले आफूलाई विजयी बनाउन मतदातासँग आग्रह गरेका छन् ।



तपाईंको प्रतिक्रिया