चुनावी सुरक्षाका लागि दाङमा साढे पाँच हजार सुरक्षाकर्मी मैदानमा
घोराही । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब पाँच दिन बाँकी छ । चुनावी माहोल बढिरहेका बेला सुरक्षा चुनौती पनि उत्तिकै छ । तर दाङमा ती सबै सुरक्षा चुनौतीको सामना गर्दै शान्तिपूर्णरुपमा निर्वाचन गर्न एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइसकिएको छ । चुनावी सुरक्षाका लागि दाङमा सेनाका बख्तरबन्दसहित साढे पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी पाँच हजार पाँच सय ११ र थप झण्डै तीनहजार निर्वाचन प्रहरी परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । यति ठूलो सुरक्षा जनशक्ति नियमित सुरक्षाबाहेक चुनावी सुरक्षामा खटाइएको छ । मतदातालाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्ररुपमा मत जाहेर गर्ने वातावरणका लागि सुरक्षाकर्मीलाई अलर्ट राखिएको छ ।
निर्वाचनमा कुनै पनि सुरक्षा जोखिमको सामना गर्न दाङका तीनवटै निर्वाचन क्षेत्रमा नेपाली सेनाका बख्तरबन्द गाडी तयारी अवस्थामा राखिएको छ । हरेक क्षेत्रमा एक÷एक वटा नेपाली सेनाका आधुनिक हातहतियारले सुसज्जित बख्तरबन्द गाडी जुनसुकै बेला परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको हो । जुन लमही, घोराही र तुलसीपुरमा छन् । त्यस्तै नेपाली सेनाकै १० वटा बम डिस्पोजल टोली पनि तयारी अवस्थामा राखिएको छ । जसमा दुइ÷दुईजना तालिम प्राप्त समूह छ र त्यसमा २० जना बम डिस्पोज गर्ने सेनाको जनशक्ति अलर्ट राखिएको छ ।
नेपाली सेनाले निर्वाचनमा सबैभन्दा बाहिरी घेरामा बसेर सुरक्षा प्रदान गर्नेछ । जसका लागि अहिले दाङका तीनवटै निर्वाचन क्षेत्रमा सामूहिक परिचालनका लागि एक÷एकवटा वेस खडा गरेर सुरक्षा प्रदान गर्न शुरु गरेको छ भने सूक्ष्म निगरानीका लागि जिल्लाका दशवटै स्थानीय तहमा १० वटा निगरानी पोष्ट स्थापना गरेको छ । निर्वाचनपूर्व यसरी सुरक्षा दिइरहेको नेपाली सेनाले फागुन १८ गतेपछि भने हरेक निर्वाचन क्षेत्रमा १३ वटाका दरले वेस खडा गर्नेछ र जिल्लामा कुल ३९ वेसमार्फत् निर्वाचनको सुरक्षा गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।
नयाँ युगबोध बाट साभार



तपाईंको प्रतिक्रिया