निर्वाचन नजिकिदै, मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै एमालेको प्रचार तीव्र

 फागुन १६, २०८२

तुलसीपुर । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि दल तथा स्वतन्त्र उम्मेदवार प्रचार प्रसारमा ब्यस्त रहेका छन । मतदाता कहा पुगेर उम्मेदवारले आफ्नो योजना सुनाउदै मत माग्न थालेका छन । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मा उत्साहपूर्ण रूपमा घरदैलो कार्यक्रम गरेकोछ ।  निर्वाचन नजिकिँदै जाँदा वडा नम्बर ९ मा एमालेले अभियानलाई तीव्र बनाएको छ ।

घरदैलो कार्यक्रममा पार्टीका समानुपातिक उम्मेदवार कोमल वली र घनश्याम पाण्डे सहित स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । टोलीले वडा भित्रका   विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराएको थियो ।

सभामा बोल्दै समानुपातिक उम्मेदवार कोमल ओलीले  स्थानीय बासिन्दाका गुनासा, सुझाव र अपेक्षाहरू प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।  जनताका गुनासा सम्बोधन गर्नका लागि निति निर्माण देखि लिएर जनताको सेवामा समर्पित हुने ओलीको भनाई थियो ।  यस्तै प्रत्यक्ष तर्फका उम्मेदवार घनश्याम पाण्डेले मुलुकको समृद्धि, स्थायित्व र सुशासनका लागि एमालेको आवश्यकता रहेको बताएका थिए ।

विकास निर्माणका अधुरा योजनाहरू पूरा गर्ने, युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने, महिलाको सशक्तीकरणलाई बलियो बनाउने तथा सामाजिक न्याय सुनिश्चित गर्ने एजेन्डाका साथ अघि बढेको हुदा आफुलाई जिताउन अपिल गरेका थिए । कार्यक्रममा बोल्दै मतदातालाई भावनात्मक नाराभन्दा पनि कामको मूल्याङ्कनका आधारमा निर्णय गर्न आग्रह गरेका थिए । “हामी चुनावका बेला मात्र होइन, हरेक समय जनतासँगै छौं,” पाण्डेको भनाइ थियो ।  स्थानीय स्तरमा एमालेप्रति बढ्दो समर्थन देखिएको दाबी गर्दै यसपटक उल्लेखनीय मत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

घरदैलो तथा कोण सभामा  सहभागी स्थानीय बासिन्दाले पनि उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाउँदा सकारात्मक अनुभव भएको प्रतिक्रिया दिएका थिए । कोण सभा वडा कमिटिका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा भएको थियो । कोण सभाको सञ्चालन प्रचार विभाग प्रमुख संगीत बस्यालले गरेका थिए ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ बालापुरमा एमालेले घरदैलो गरि कोण सभा गरेको छ । कोणसभालाई एमालेका उम्मेदवार घनश्याम पाण्डेले जनपक्षिय काम आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए ।

तपाईंको प्रतिक्रिया