तुलसीपुर–हापुरे सडकमा दुर्घटना : मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

 ५ घण्टा अगाडि

तुलसीपुर । दाङको तुलसीपुर–हापुरे सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–२, डाँडाचिसमा भएको सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका–६, पञ्चकुले निवासी ५८ वर्षीय हेमबहादुर डाँगी रहेका छन्।

बुधबार साँझ करिब साढे ६ बजे सडक छेउमा रोकिराखेको रा १ ह ३८७९ नम्बरको अटोमा सोही दिशातर्फ जाँदै गरेको रा ६ प ५७८७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। ठक्करपछि सडकमा लडेका मोटरसाइकल चालक डाँगीलाई पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ च ६१३ नम्बरको पिकअपले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि मृतकको शव राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको छ। प्रहरीले अटो, अटो चालक, पिकअप र पिकअप चालकलाई नियन्त्रणमा लिएको छ।

घटनापछि प्रहरी टोली र पीडित पक्षबीच छलफल भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया