हङकङ सिक्सेसमा नेपालको जित
काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डमाथि ६ विकेटको शानदार जित हात पारेको छ।इंग्ल्यान्डले दिएको ९७ रनको लक्ष्य नेपाली टोलीले ४.२ ओभरमै विना विकेटको क्षतिमा पूरा गरेको हो। इंग्ल्यान्ड हङकङ सिक्सेसको तीन पटकको विजेता हो । नेपालका लागि कप्तान सन्दीप जोरा १२ बलमा ५० रन बनाएर रिटायर्ड हर्ट भए। प्रतियोगितामा कुनै पनि खेलाडीले ५० रन बनाएपछि ब्याटिङ गर्न नपाउने नियम छ।
लोकेश बमले ११ बलमा २० र रासिद खानले ४ बलमा १५ रनको पारी खेले। इंग्ल्यान्डका कुनै पनि खेलाडीले विकेट लिन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको इंग्ल्यान्डले निर्धारित छ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनायो । उसका लागि कप्तान रवि भोपाराले १२ बलमा ४९ र समित पटेलले १७ बलमा ३९ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई–दुई विकेट लिए ।
हङकङ सिक्सेसमा भोलि नेपालले अष्ट्रेलियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार विहान सवा छ बजे हुनेछ ।




तपाईंको प्रतिक्रिया