यातायात व्यवसायीको आन्दोलन फिर्ता
दाङ। विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको सार्वजनिक यातायात बचाउ संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । राइड सेयरिङ नियमावली कार्यान्वयनको निर्णयबाट गण्डकी प्रदेश सरकार तत्काललाई पछि हटेपछि यातायात व्यवसायीहरुले आन्दोलन फिर्ता लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सल्लाहकार सुरेश हमालले जानकारी दिनुभयो ।
मंगलबार बसेको गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, वार्ता समितिबीचको संयुक्त बैठकले राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ एक महिनालाई कार्यान्वयन नगर्ने निर्णय गरेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार नै राइड सेयरिङ नियमावलीमा उल्लेखित प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई पत्र पठाएको थियो ।
व्यवसायीले विभिन्न ७ बुदे माग राखेपनि राइड सेयरिङलाई प्रमुख मुद्दा बनाएका थिए । गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली–२०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेपछि सार्वजनिक यातायात बचाउ संघर्ष समितिले १९ गतेदेखि देशैभर यातायात ठप्प पारेर आन्दोलनमा उत्रिएको थियो । व्यवसायीको आन्दोलन फिर्ता भएसंगै जनजीवन सहज हुन थालेको छ भने बिचबाटोमा रोकिएका सवारी साधनहरु गन्तब्यमा हिडेका छन् ।



तपाईंको प्रतिक्रिया