लुम्बिनी प्रदेशले करिव ३९ अर्बकाे बजेट ल्याउँदै

 असार ०१, २०८२

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आज (आइतबार) प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी वर्षको आय–व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

मन्त्री कार्कीले बजेटसँगै ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पनि पेश गर्नेछन् । बजेट नीति तथा कार्यक्रममा आधारित रहेर तयार पारिएको जनाइएको छ, जसले समृद्धि, सुशासन र सामाजिक न्यायका आधारहरूलाई सन्तुलित रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

बजेटको आकार करिव ३९ अर्ब
सरकारी तयारीअनुसार, आगामी वर्षको लागि प्रदेश सरकारले करिव ३९ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याइएको थियो । आगामी बजेटमा स्रोत परिचालनमा देखिएको चुनौती, खर्चको प्रभावकारिता र प्राथमिकताका पुनःनिर्धारणका आधारमा बजेटको आकार केही सन्तुलित बनाइएको बताइएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याउन लागिएको स्पष्ट पार्दै भने, “प्रदेशबासीको विकासप्रतिको तीव्र चाहनालाई बजेटले प्राथमिकतामा राखेको छ । कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रलाई समृद्धिको आधारका रूपमा मानेका छौं ।” उनले यो बजेटले लुम्बिनी प्रदेशको सामाजिक र आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्राथमिकता : कृषि, रोजगारी र पूर्वाधार
सरकारले ल्याउन लागेको बजेटमा कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ। कृषिमा यान्त्रीकरण, बीउ तथा मलको आपूर्ति, सिँचाइ पहुँच विस्तार, कृषि बजारको सुधार, अनुसन्धान तथा प्रविधि हस्तान्तरण, सहुलियत ऋण र बीमा प्रणालीजस्ता कार्यक्रम समेटिने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया