९१ प्रतिशत धान रोपाइँ
काठमाडौं । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी ९९.७, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार भदौ दोस्रो सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।
मधेश प्रदेशमा सबैभन्दा कम ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष मधेशमा अहिलेसम्म ९७ प्रतिशत रोपाइँ भएको थियो । यहाँ मनसुन अलि ढिला सक्रिय भएकाले प्रतिशतका हिसाबले सबैभन्दा कम रोपाइँ भएको पाइएको जोशीले बताए । मधेशमा आवश्यक वर्षा हुन नसकेकाले रोपाइँ प्रभावित भएको उनको भनाइ छ ।
मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान रहेको बताउँदै उनले पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने उनको भनाइ छ ।



तपाईंको प्रतिक्रिया