दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी

 साउन २८, २०८२

दाङ । महुवा मिसन २०२५ मा दाङ जिल्लाका सामुदायिक वनहरूमा दुई हजार भन्दा बढी महुवा विरुवा रोप्ने लक्ष्य राखिएको छ । गत वर्ष सफल भएको महुवा मिसन २०२४ लाई निरन्तरता दिदै यस अभियानले स्थानीय तथा आदिवासी समुदायलाई आर्थिक रुपमा सशक्त बनाउँदै वातावरणीय संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दाङको देउखुरी, लमहीमा अवस्थित डिभिजन वन कार्यालय देउखुरीले यस वर्षका लागि दुई हजार महुवा विरुवा उपलब्ध गराएको छ । अभियानलाई सफल बनाउनमा वन विभागका फरेस्टर चिरञ्जीवी खनाल र वन प्राविधिक तथा जीआएस विज्ञ सुजन खनालले महत्वपूर्ण सहयोग पु¥याएका छन । यस वर्ष करिब एक हजार महुवा विरुवा मङ्कादरी सामुदायिक वन उपभोक्ता समूह, घोराही उपमहानगरपालिका–१७, ढिकपुर, सहयोगी टोल मा रोपिएको छ ।

मङ्कादरी सामुदायिक वन उपभोक्ता समूह करिब १० विगाहा क्षेत्रफलमा फैलिएको छ, जसमा ७ विगाहा वन क्षेत्र र बाँकी पोखरी क्षेत्र रहेको छ । उक्त वनमा मुख्य रूपमा थारु आदिवासी समुदायका लगभग ८० परिवार आबद्ध छन् भने स्थानीय समुदायका ३ प्रतिशत मात्रै रहेका छन्। यस अभियानमा सामुदायिक नेताहरू, टोलका प्रतिनिधिहरू, र ६९ जना सामुदायिक वन उपभोक्ता समूह सदस्यहरू सक्रिय सहभागी थिए, जसमा पुरुष, महिला, युवाहरू र विभिन्न उमेर समूहका १५ देखि ५० वर्षसम्मका सदस्यहरू थिए । उनीहरूले बिरुवा रोप्ने, खनेर जमिन तयार गर्ने, सिँचाइ गर्ने र संरक्षण गर्ने काममा सक्रिय सहभागिता जनाएका छन ।

मुख्य नेताहरूमा अध्यक्ष बुजौना चौधरी, सामुदायिक वन उपभोक्ता समूह सदस्य तथा सहयोगी टोलका अध्यक्ष भिमबहादुर चौधरी, र समूहको कोषाध्यक्ष किरण चौधरी रहेका छन । रोपण कार्यक्रमको समन्वय भिमबहादुर चौधरीले गरेका थिए, जसले सामुदायिक प्रतिबद्धता झल्काएको छ । मङ्कादरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रलाई पार्क, पिकनिक स्पट र माछापालनका लागि विकास गर्ने योजना बनाएको छ। साथै, फलफूलका विरुवा जस्तै आँप र अवोकाडो रोप्ने अनुरोधसमेत गरेको छ ।

यस अभियानले २०८२ को अन्तर्राष्ट्रिय युवा दिवस मनाउने क्रममा युवाहरूलाई पनि सक्रिय रूपमा संलग्न गराएको छ, जसले वन संरक्षण र आदिवासी ज्ञानको संरक्षणमा नयाँ ऊर्जा थपेको छ । यस अभियानको नेतृत्व महुवा वाइन एण्ड बेभरेजेज प्रा. लि. का संस्थापक सन्देश चौधरीले गरिरहेका छन्, जो गत वर्षदेखि यस अभियानमा सक्रिय छन । सामुदायिक वनबाट संकलित महुवा फूल र बीउ बजारीकरणको लागि प्रा. लि. का संस्थापक सन्देश चौधरीले प्रतिबद्धता जनाएका छन । यसले स्थानीय तथा आदिवासी समुदायलाई आयआर्जनको नयाँ स्रोत प्रदान गर्ने चौधरीले बताए ।

 

तपाईंको प्रतिक्रिया