पाल्पामा भगवती जात्रा मनाइदै, लुम्बिनी प्रदेशले दियाे सार्वजनिक बिदा

 भदौ ०१, २०८२

रूपन्देही । आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा । नेपाल र इस्ट इन्डिया कम्पनीबीच विसं १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा भव्य रूपमा आयोजना हुन गइरहेको श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

विजयपछि कर्णेल उजिरसिंह थापाले महिषासुर मर्दिनी भगवतीको मन्दिर स्थापना गरी रथ जात्राको परम्परा सुरु गर्नुभएको ऐतिहासिक तथ्यको मुख्यमन्त्री आचार्यले स्मरण गरेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै तिनलाई पर्यटनसँग जोड्ने दीर्घकालीन योजनाहरू अघि बढाएको उल्लेख गरेका छन् ।

हिमाल, पहाड र तराईलाई समेट्ने गरी लुम्बिनी प्रदेशमा पर्यटन सर्किट विकासको तयारी भइरहेको र पाल्पाको भगवती जात्रा जस्तो अमूल्य धरोहर यस अभियानको महत्त्वपूर्ण हिस्सा बन्न सक्ने विश्वास व्यक्त गरे । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज आइतबार पाल्पा जिल्लाभर सार्वजनिक बिदा समेत दिएको छ ।

तपाईंको प्रतिक्रिया