दाङ घोराहीमा २ सय ६९ युवा एमालेमा प्रवेश

 फागुन १५, २०८२

घोराही । फागुन २१ नजिकमा  दाङमा एमाले प्रवेश गर्नेहरूको रहर बढेको छ । पछिल्ला दिनहरूमा दाङमा एमाले प्रवेश गर्ने युवाहरू बढिरहेका छन् । यसैक्रम शुक्रबार २ सय ६९ जना युवा तथा महिलाहरू एमाले पार्टी प्रवेश गरेका छन् । विवेक बुढा मगरको नेतृत्वमा घोराहीमा आयोजित विशेष कार्यक्रममा महासचिव तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले २ सय ९ जना युवा र अन्य ६० जना गरी कुल २ सय ६९ जनालाई पार्टीमा स्वागत गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको भविष्य निर्माणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै नयाँ पुस्ता विध्वंस होइन विकास र समृद्धिको पक्षमा उभिएको उल्लेख गर्नुभयो । “आजका नव युवा देश जलाउने होइन, देश बनाउने अभियानमा जुटेका छन् । राष्ट्रको समृद्धि र स्थायित्वका लागि युवाको ऊर्जा सकारात्मक दिशामा प्रयोग हुनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले वर्तमान निर्वाचनलाई मुलुकको समृद्धि चाहने शक्ति र मुलुकका महत्वपूर्ण संरचना ध्वस्त पार्ने प्रवृत्तिबीचको वैचारिक संघर्षको रूपमा चित्रण गर्नुभयो ।

“यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र होइन, देशलाई सही दिशामा लैजाने र अस्थिरता निम्त्याउने शक्तिबीचको निर्णायक संघर्ष हो,” पोखरेलले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले पछिल्लो समय पार्टीप्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनबाट एमाले देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने जिकिर गर्नुभयो । “जनताको विश्वास र समर्थन निरन्तर बढिरहेको छ । विकास, सुशासन र स्थायित्वप्रतिको हाम्रो प्रतिबद्धताले एमालेप्रति जनलहर सिर्जना भएको छ,” उहाँले भन्नुभयो । पोखरेलले देशको आर्थिक विकास, रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा सुशासन स्थापना पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै युवालाई राष्ट्र निर्माणको मुख्य आधारशक्ति भएको बताउनुभयो ।

उहाँले युवा पुस्तालाई नवीन सोच, सीप र प्रविधिको प्रयोगमार्फत देशको विकासमा योगदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पार्टी प्रवेश गर्ने युवाहरूले पनि देशको विकास र स्थायित्वका लागि आफूहरू सक्रिय रूपमा राजनीतिमा सहभागी भएको बताएका छन् । सहभागी युवाहरूका अनुसार वर्तमान पुस्ताले अवसर, रोजगारी र सुशासनको अपेक्षा गरेको छ र त्यसका लागि आफूहरूले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जेनेरेशन–जी (Gen Z) का प्रतिनिधि युवाहरूले डिजिटल प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिन चाहेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया