तुलसीपुरको बजेट २ अर्ब ४४ करोड
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्ष २०८२–८३ को तुलनामा ३८ करोड रुपियाँले बढी हो। नगरसभाको बैठकमा उपप्रमुख स्यानी चौधरीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। सार्वजनिक बजेटको कुल आम्दानीमध्ये आन्तरिक स्रोतबाट ५४ करोड र राजस्व बाँडफाँट तथा मालपोत रजिस्ट्रेसनबाट २४ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ।
यसैगरी, सङ्घीय सरकारबाट समानीकरण अनुदानतर्फ २८ करोड ७७ लाख र ससर्त अनुदानतर्फ ६७ करोड २३ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने बाँकी रकम प्रदेश सरकारको अनुदान, सडक बोर्ड र नगर विकास कोषबाट व्यहोरिने समाचारमा उल्लेख छ।
कूल विनियोजित बजेटमध्ये उपमहानगरपालिकाले चालुतर्फ १ अर्ब ३९ करोड ६० लाख रुपियाँ (५६ प्रतिशत) र विकास निर्माण अर्थात् पुँजीगततर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार रुपियाँ (४२.३५ प्रतिशत) छुट्याएको छ। त्यस्तै, वित्तीय अनुदानतर्फ ४ करोड रुपियाँ (१.६५ प्रतिशत) बजेट विनियोजन गरिएको छ।




तपाईंको प्रतिक्रिया