गुल्मीमा स्कारपियो दुर्घटनामा ६ जनाको मृत्यु
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बागले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली तथा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्।
त्यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–२ की निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।
सोही ठाउँकी गोमता पाण्डेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। ५० देखि ५५ वर्ष उमेर समूहकी गोमता हाल स्याङ्जाको वालिङमा बस्दै आएकी थिइन्।
त्यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदीको पनि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।



तपाईंको प्रतिक्रिया