उपचाररत सोनम बुढालाइ देश–विदेशबाट सहयोग जुट्दै , छोरीलाई ज्ञानोदय स्कुलमा निःशुल्क शिक्षा

 ६ घण्टा अगाडि

दाङ । दंगीशरण गाउँपालिका–२, सिमलकुना निवासी सोनम बुढा विगत एक वर्षदेखि गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत छन्। आर्थिक अभावका कारण समयमै आवश्यक उपचार हुन नसक्दा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। हाल उनी चितवनस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन्।

चिकित्सकका अनुसार उनको मृगौला, आन्द्रा तथा मुटुसम्बन्धी समस्या देखिएको छ। उपचारका लागि ठूलो आर्थिक खर्च आवश्यक परेपछि परिवार गम्भीर संकटमा परेको थियो। तर, देश तथा विदेशमा रहेका सहयोगी मनहरूबाट प्राप्त आर्थिक सहयोगका कारण उपचार प्रक्रिया निरन्तर अघि बढिरहेको परिवारले जनाएको छ।

यसैबीच, उपचारसँगै परिवारमाथि परेको अर्को ठूलो चिन्ता छोरीको शिक्षालाई लिएर पनि सकारात्मक खबर आएको छ। दंगीशरण गाउँपालिका–२, सरुवाडाँडा, दाङस्थित ज्ञानोदय इंग्लिस बोडिङ स्कुलले सोनम बुढाकी छोरी अस्मिता बुढालाई निःशुल्क अध्ययन गराउने निर्णय गरेको छ।

विद्यालयका सञ्चालक मेघनाथ शाहले आर्थिक रूपमा विपन्न, बिरामी तथा असहाय परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिन सहयोग गर्नु विद्यालयको सामाजिक उत्तरदायित्व भएको बताउँदै अस्मिताको अध्ययन निःशुल्क गराउने निर्णय गरिएको जानकारी दिए। साथै सोहि वडा बस्ने चक्र मिलन विकले बिरामी बुढाको छोरीलाई कापी, कलम र पोसाकको  लागि सहयोग गर्ने भएका छन ।

सोनम बुढाको परिवारले विद्यालयप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले कठिन परिस्थितिमा ठूलो राहत र हौसला मिलेको प्रतिक्रिया दिएको छ। उपचारका लागि देश–विदेशबाट सहयोग जुटिरहेको र छोरीको शिक्षाको जिम्मेवारी विद्यालयले लिएको खबरले परिवारमा नयाँ आशा थपिएको उनीहरूको भनाइ छ।

स्थानीयवासीका अनुसार विपद् र संकटमा परेका परिवारलाई विभिन्न व्यक्ति तथा संस्थाबाट भइरहेको सहयोगले समाजमा मानवीय एकताको सकारात्मक सन्देश प्रवाह गरेको छ। सोनम बुढाको स्वास्थ्य लाभको कामना गर्दै सहयोग अभियान अझै जारी रहेको परिवारले जनाएको छ।

तपाईंको प्रतिक्रिया