एमालेको केन्द्रीय कमिटीमा १३ नेतालाई मनोनयन

 ७ घण्टा अगाडि

काठमाडौं  । एमालेले विभिन्न जिल्लाका १३  नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको स्थायी कमिटीको बैठकले सो मनोनयन गरेको हो।

महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिकाअनुसार मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिरहा), तेजमान कन्दङवा (तेह्रथुम), टङ्क आङ्बोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डबल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन्।

यही असोज २२ गते सुरु भएर शनिबार सकिएको बैठकले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ।
बैठकले पार्टीका वडा कमिटीका अधिवेशन आगामी मङ्सिर २६ गते र गाउँपालिका तथा नगरपालिकास्तरीय कमिटीका अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ।

तपाईंको प्रतिक्रिया