मितेरी सहकारीको अध्यक्षमा पुनः द्रोणबहादुर बस्नेत

 १० घण्टा अगाडि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–११ स्थित मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः द्रोणबहादुर बस्नेत सर्वसम्मत चयन हुनुभएको छ। संस्थाको १८औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनबाट बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा तेजकुमारी डाँगी, सचिवमा विशाल पोखरेल र कोषाध्यक्षमा राजकुमार गौतम चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा माया आचार्य, चुर्णबहादुर केसी, रिता पुन, खड्गबहादुर घर्ती र खोपिराम डाँगी चयन हुनुभएको छ।

यस्तै, अमर केसीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति, दामोदर बस्नेतको संयोजकत्वमा ऋण उपसमिति र मुक्तबहादुर वलीको संयोजकत्वमा शिक्षा तथा स्वास्थ्य उपसमिति गठन गरिएको छ।

नयाँ कार्यसमिति चयनका लागि पूर्वअध्यक्ष बलदेव आचार्यको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो। निर्वाचन मण्डलका सदस्यहरूमा पदमबहादुर वली, राजकुमार गौतम, वडा सदस्य प्रभा परियार र खेमराज खड्का रहनुभएको थियो।

निर्वाचन मण्डलले संस्थाको विधि तथा विधानअनुसार नयाँ कार्यसमिति चयन गरेको हो।

यसैबीच, कार्यक्रमका प्रमुख अतिथि सहकारी संघ लुम्बिनी प्रदेशका सचिव रुपबहादुर खत्रीले सहकारी संस्थाहरू सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले सहकारीमा पारदर्शिता, सुशासन र आर्थिक अनुशासन कायम गर्दै सदस्यहरूको बचत सुरक्षित राख्न तथा सहकारीप्रति सदस्यहरूको विश्वास बढाउनुपर्नेमा जोड दिनुभयो।

संस्थाका अध्यक्ष द्रोणबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सेतु जैसीले स्वागत मन्तव्य राख्नुभएको थियो। सभामा तुलसीपुर–११ का वडा सदस्य प्रभा परियारलगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव कुलबहादुर बस्नेतले गर्नुभएको थियो।

साधारण सभाका अवसरमा असल बचतकर्तातर्फ जानुका आचार्य र कालिचरण चौधरी तथा असल ऋणीतर्फ बोधकुमारी खत्री र टङ्कबहादुर विकलाई सम्मान गरिएको थियो। यस्तै, बाल बचतकर्तातर्फ अनमिका खनाललाई सम्मान गरिएको थियो।

सहकारी संस्थामा हाल ५ सय ७४ जना शेयर सदस्य रहेका छन्। संस्थाको कुल पुँजी ९ करोड ३३ लाख रुपैयाँ रहेको छ।

तपाईंको प्रतिक्रिया