दाङमा धान रोप्ने क्रममा चट्याङ पर्दा एक महिलाको मृत्यु, दुई जना घाइते

 ५ घण्टा अगाडि

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार साँझ करिब ५:४५ बजे खेतमा धान रोपिरहेका बेला चट्याङ पर्दा बङ्गालाचुली गाउँपालिका–२ मर्फेस निवासी २६ वर्षीया दिपा थापा गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएपछि चिकित्सकले साँझ ६:२५ बजे उनलाई मृत घोषणा गरेका हुन्।

उक्त घटनामा २९ वर्षीया कमला थापा गम्भीर घाइते भएकी छन्। उनको शरीरमा बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको जनाइएको छ। यस्तै, १४ वर्षीय सन्दिप विक पनि चट्याङबाट घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नारायणपुरबाट प्रहरी नायब निरीक्षक प्रकाश शाहीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय नारायणपुरबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईंको प्रतिक्रिया