नेपालको युवा अवस्था, अवसर र चुनौती
कुनै पनि राष्ट्रको भविष्य त्यस देशका युवाको सोच, क्षमता, सीप, सिर्जनशीलता र नेतृत्वसँग जोडिएको हुन्छ। युवा केवल जनसंख्याको एउटा उमेर समूह होइनन्, उनीहरू परिवर्तनका संवाहक, आर्थिक विकासका चालक र राष्ट्र निर्माणका महत्वपूर्ण साझेदार हुन्। त्यसैले युवामा गरिने लगानीलाई खर्च होइन, भविष्य निर्माणको आधारका रूपमा बुझ्न आवश्यक छ।
नेपालमा युवाको संख्या ठूलो छ। राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानेको छ भने राष्ट्रिय युवा नीति, २०८२ ले नीतिगत रूपमा १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानेको छ। यो ठूलो युवा जनसंख्या नेपालका लागि महत्वपूर्ण अवसर हो। तर जनसंख्या ठूलो हुँदैमा मात्र विकास सम्भव हुँदैन। त्यसलाई शिक्षा, सीप, रोजगारी, उद्यमशीलता, प्रविधि र नेतृत्वसँग जोड्न सक्नुपर्छ।
भिन्न परिवेश, साझा आकांक्षा
सन् २०२६ को अन्तर्राष्ट्रिय युवा दिवसको मूल भाव “भिन्न परिवेश, साझा आकांक्षा” नेपालको अवस्थासँग निकै सान्दर्भिक छ। हिमाल, पहाड र तराईका युवाको सामाजिक, आर्थिक र भौगोलिक परिवेश फरक भए पनि उनीहरूको चाहना समान छ—गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, समान अवसर र सुरक्षित भविष्य। शहरका युवाले शिक्षा, प्रविधि र रोजगारीका अवसरमा तुलनात्मक रूपमा सहज पहुँच पाउँछन्। तर ग्रामीण तथा दुर्गम क्षेत्रका युवाका लागि गुणस्तरीय शिक्षा, इन्टरनेट, यातायात, सीप र रोजगारी अझै चुनौतीका विषय हुन्। यो असमानता घटाउनु आजको प्रमुख आवश्यकता हो।
रोजगारी : सबैभन्दा ठूलो चुनौती
नेपालका युवाको प्रमुख समस्या रोजगारी हो। राष्ट्रिय जीवनस्तर सर्वेक्षण २०२२/२३ अनुसार १५–२४ वर्ष उमेर समूहको बेरोजगारी दर २२.७ प्रतिशत रहेको छ। रोजगारीका सीमित अवसरका कारण ठूलो संख्यामा युवा वैदेशिक रोजगारीतर्फ जाने गरेका छन्। वैदेशिक रोजगारीले परिवारको आय र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याए पनि दक्ष जनशक्तिको निरन्तर पलायन दीर्घकालीन समाधान होइन। अबको प्राथमिकता युवालाई विदेश जान रोक्नु मात्र होइन, स्वदेशमै सम्मानजनक, सुरक्षित र उत्पादनशील रोजगारी सिर्जना गर्नु हुनुपर्छ। यसका लागि कृषि, पर्यटन, सूचना प्रविधि, उद्योग, निर्माण, वन तथा वातावरण संरक्षणजस्ता क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिन्छ।
प्रमाणपत्रभन्दा सीप महत्वपूर्ण
आजको श्रम बजारमा शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त छैन। डिजिटल ज्ञान, प्राविधिक दक्षता, सञ्चार क्षमता, नेतृत्व, उद्यमशीलता, वित्तीय साक्षरता र समस्या समाधान गर्ने सीप आवश्यक छन्।
त्यसैले नेपालको शिक्षा प्रणालीलाई रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयदेखि नै सीप, प्रयोगात्मक ज्ञान र उद्यमशीलतामा जोड दिन सके युवालाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने बनाउन सकिन्छ।
डिजिटल र हरित अर्थतन्त्रमा अवसर
सूचना प्रविधिले नेपाली युवाका लागि नयाँ संसार खोलेको छ। सफ्टवेयर, डिजिटल मार्केटिङ, डिजाइन, अनलाइन व्यवसाय, फ्रीलान्सिङ र डिजिटल सेवामार्फत देशमै बसेर अन्तर्राष्ट्रिय बजारसँग जोडिन सकिने अवस्था छ। तर यसको लाभ लिन ग्रामीण क्षेत्रसम्म भरपर्दो इन्टरनेट, उपकरण र डिजिटल सीपको पहुँच विस्तार गर्नुपर्छ।
त्यस्तै नेपालका प्राकृतिक स्रोत युवाका लागि अर्को ठूलो अवसर हुन्। कृषि, जडीबुटी, बाँस, अल्लो, लोक्टा, मौरीपालन, पशुपालन, जैविक कृषि तथा इको–पर्यटनलाई आधुनिक प्रविधि, बजार र ब्रान्डिङसँग जोड्न सके गाउँमै रोजगारी र उद्यम सिर्जना गर्न सकिन्छ।
वातावरण संरक्षणमा युवाको नेतृत्व
जलवायु परिवर्तन अब केवल वातावरणको विषय रहेन। यसले कृषि, पानी, स्वास्थ्य, पर्यटन, पूर्वाधार र रोजगारीमा प्रत्यक्ष असर पारिरहेको छ। बाढी, पहिरो, खडेरी, वन डढेलो तथा जैविक विविधताको ह्रासले युवाको भविष्यलाई समेत प्रभावित गरिरहेको छ।
त्यसैले युवालाई वातावरणीय समस्याका पीडित मात्र होइन, समाधानका साझेदार बनाउनुपर्छ। वन संरक्षण, वृक्षारोपण, पानीका मुहान संरक्षण, फोहोर व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण र हरित उद्यममा युवाको सक्रिय नेतृत्व आवश्यक छ।
सामुदायिक वन पनि युवाका लागि महत्वपूर्ण अवसर बन्न सक्छ। वन संरक्षणसँगै वनजन्य उत्पादन, जडीबुटी, गैरकाष्ठ वन पैदावार, पर्यटन र हरित उद्यम विकास गर्न सके रोजगारी र वातावरण संरक्षण दुवैलाई अघि बढाउन सकिन्छ।
युवालाई अवसर र नेतृत्व
नेपालले अब युवालाई केवल सरकारी कार्यक्रमका लाभग्राहीका रूपमा होइन, राष्ट्र निर्माणका सक्रिय साझेदार र नेतृत्वकर्ता का रूपमा हेर्नुपर्छ। शिक्षा र श्रम बजारबीचको दूरी घटाउने, युवालाई सीप र उद्यमसँग जोड्ने, स्वदेशमा रोजगारी सिर्जना गर्ने तथा डिजिटल र आर्थिक पहुँच विस्तार गर्ने नीति आवश्यक छ। त्यसैगरी नीति निर्माणदेखि बजेट विनियोजन र कार्यान्वयनदेखि अनुगमनसम्म युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। युवा सहभागिता भाषण, गोष्ठी र दिवसमा मात्र सीमित हुनु हुँदैन।
अन्ततः हिमाल, पहाड वा तराई; गाउँ वा शहर—परिवेश फरक भए पनि युवाको आकांक्षा समान छ। उनीहरू अवसर, सम्मान, रोजगारी र समृद्ध भविष्य चाहन्छन्। नेपालको युवा शक्ति देशको सबैभन्दा ठूलो पूँजी हो। युवालाई अवसर दिऔँ, विश्वास गरौँ र नेतृत्व गर्न दिऔँ। आज युवामा गरिएको सही लगानीले भोलिको समृद्ध, हरित, समावेशी र आत्मनिर्भर नेपाल निर्माण गर्नेछ।
- सुरेश कुमार रावत




तपाईंको प्रतिक्रिया