तुलसीपुरमा घरको छतबाट खसेर ७ वर्षीय बालकको मृत्यु

 भदौ ०१, २०८३

दाङ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर–६ घर भई हाल तुलसीपुर–५ बसपार्कमा ठूला बुवा बेदबहादुर बस्नेतको घरमा बस्दै आएका ७ वर्षीय आर्यमान बस्नेत रहेका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब ५ बजे पिसाब फेर्न निस्किएका बेला बरन्डाबाट खसेर उनी तीन तला तल नालामा खसेका थिए । आर्यमान ठूला बुवाका छोरासँगै सुतेका थिए। एउटै विद्यालयमा अध्ययन गर्ने भएकाले उनी ठूला बुवाको घरमा बस्दै आएका थिए।

यता, बालकका हजुरआमा र बुवाले भने घटना शंकास्पद रहेको बताएका छन्। बालककी आमा वैदेशिक रोजगारीमा रहेको र बुवा दोघरेमा बस्दै आएको बताइएको छ। बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईंको प्रतिक्रिया