हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारीद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ हजार २ सय सहयोग

 २२ घण्टा अगाडि

तुलसीपुर । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दुःख व्यक्त गरेको छ। सहकारीको भदौ १२ गते बसेको सञ्चालक समिति र लेखा समितिको संयुक्त बैठकले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ हजार २ सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

संस्थाको हुन गइरहेको चौथो वार्षिक साधारणसभामा यातायात तथा खाजाका लागि छुट्याइएको उक्त रकम खर्च नगरी संस्थाका सम्पूर्ण शेयर सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको सहकारीले जनाएको छ।

सहकारीले बाढीमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेको छ।

विपद्को यस घडीमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सहकारीले सम्पूर्ण नेपाली तथा विभिन्न संघसंस्थालाई आग्रहसमेत गरेको छ।

तपाईंको प्रतिक्रिया