दशैंमा खाद्य कम्पनीले खसीबोका र च्याङ्ग्रा नबेच्ने

 ३ घण्टा अगाडि

काठमाडौं — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा सहुलियत मूल्यमा खसीबोका तथा च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। हरेक वर्ष दशैं लक्षित गरेर खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यसपटक भने बजेट अभावका कारण खरिद तथा बिक्री प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार खसीबोका खरिदका लागि यस वर्ष बजेट विनियोजन नभएकाले उक्त कार्यक्रम सञ्चालन गर्न नसकिएको हो। उनका अनुसार अघिल्ला वर्षमा बजार मूल्य नियन्त्रण तथा उपभोक्तालाई राहत दिने उद्देश्यले दशैंका बेला सहुलियत दरमा खसीबोका बिक्री गरिँदै आएको थियो।

यस वर्ष कम्पनीले दशैं–तिहार लक्षित सुपथ मूल्य पसललाई भने निरन्तरता दिएको छ। भदौ २८ गतेदेखि देशभर ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । सुपथ मूल्य पसलमार्फत चामल, दाल, तेल, चिनी, नुनलगायत दैनिक उपभोग्य वस्तु बिक्री भइरहेका छन्। साथै चिनो, कागुनो, फापर, सिमीलगायत स्थानीय उत्पादनसमेत बिक्रीमा राखिएको कम्पनीले जनाएको छ।

उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुमा प्रतिदिन पाँच रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको छ।

तपाईंको प्रतिक्रिया