सासुको १३ दिने काजकिरियामा बसे ज्वाइँ

 ३ घण्टा अगाडि

तुलसीपुर । नेपाली समाजमा छोराले मात्रै आमाबुवाको काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत मान्यताबीच तुलसीपुरका शिव थापाले फरक उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँ सासु आमाको निधनपछि १३ दिनसम्म काजकिरियामा बस्नुभएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर निवासी थापाले तुलसीपुर–११ निवासी ८१ वर्षीया तुलसी खत्रीको काजकिरिया गर्नुभएको हो । खत्रीको गत असोज ३० गते निधन भएको थियो । उहाँका श्रीमान् शोभाराम खत्रीको यसअघि नै निधन भइसकेको थियो । तुलसी खत्रीकी एक्ली छोरी रचिता खत्रीका श्रीमान् थापाले सासुलाई आफ्नै आमासरह मानेर १३ दिनसम्म काजकिरिया गर्ने निर्णय गर्नुभएको हो ।

यो कदमले छोरा र छोरीबीचको विभेदभन्दा माथि उठेर सन्तानको माया र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ । तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले थापाको यस कार्यलाई समाजका लागि उदाहरणीय कदमका रूपमा लिनुभएको छ ।

उहाँका अनुसार छोराले मात्रै आमाबुवाको काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत सोच परिवर्तन गर्न यस्ता कार्यले सहयोग पुग्नेछ । छोरा र छोरी दुवै आमाबुवाका समान सन्तान भएकाले उनीहरूप्रतिको जिम्मेवारी पनि उत्तिकै हुने उहाँको भनाइ छ ।

वडाध्यक्ष रावतले थापाको यस कदमले समाजमा समानताको भावना विकास गर्न र छोरीले पनि आमाबुवाप्रतिको कर्तव्य पूरा गर्न सक्छिन् भन्ने सन्देश दिन सहयोग पुग्ने बताउनुभयो ।

आमाबुवाप्रतिको माया र जिम्मेवारी छोरा वा छोरी हुनुमा नभई मानवीय सम्बन्ध र कर्तव्यमा निर्भर हुने सन्देश थापाको यस कार्यले दिएको छ । 

तपाईंको प्रतिक्रिया