दमकल अभावले जोखिम बढ्यो, समयमै व्यवस्थापन गर्न जुटौँ
तुलसीपुर । दाङको हापुरेमा गौरी शृङ्गार पसलमा भएको आगलागीको घटनापछि सुरेश कुमार रावतले तुलसीपुरसहित पश्चिम दाङमा दमकलको अभाव समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
रावतले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै हापुरेमा भएको आगलागीले सबैलाई गम्भीर बनाएको उल्लेख गरेका छन्। उनले हापुरेमा भएको जस्तै विपद् भविष्यमा तुलसीपुर, शान्तिनगर वा दंगीशरणका जुनसुकै ठाउँमा पनि हुन सक्ने भन्दै समयमै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका छन्।
जेनजी आन्दोलनका क्रममा तुलसीपुरको दमकल जलेपछि तुलसीपुरसहित पश्चिम क्षेत्रमा दमकलको अभाव देखिएको उल्लेख गर्दै उनले नयाँ दमकल खरिद तथा व्यवस्थापनका लागि ढिलाइ गर्न नहुने बताएका छन्।
दमकल खरिदका लागि बजेट अभाव भए उद्योगी–व्यवसायी, संघसंस्था र इच्छुक नागरिकको सहकार्यमा ‘दमकल सहयोग अभियान’ सञ्चालन गरेर पनि आवश्यक स्रोत जुटाउन सकिने उनको सुझाव छ।
रावतले नागरिकको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै दमकल व्यवस्थापनका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न र आवश्यक सहयोगका लागि सबै पक्षलाई एकजुट हुन आग्रह गरेका छन्।
उनले समयमै गरिएको तयारी र सामूहिक पहलले भविष्यमा हुन सक्ने ठूलो जनधनको क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।



तपाईंको प्रतिक्रिया