कौवाघारीमा खेल मैदान निर्माण गर्न युवाको माग

 ११ घण्टा अगाडि

दंगीशरण, दाङ। दंगीशरण गाउँपालिका–२ कौवाघारीस्थित श्री प्राथमिक विद्यालय परिसरमा खेल मैदान निर्माण गर्न स्थानीय युवाले माग गरेका छन्। खेलकुद गतिविधि सञ्चालन तथा अभ्यासका लागि उपयुक्त मैदान नहुँदा स्थानीय युवाहरू समस्यामा परेको भन्दै उनीहरूले खेल मैदान निर्माणको आवश्यकता औँल्याएका हुन्।

स्थानीय युवा सि.एम. विश्वकर्माले कौवाघारी क्षेत्रमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा खेलाडी उत्पादनका लागि व्यवस्थित खेल मैदान आवश्यक रहेको बताउनुभएको छ।

उहाँका अनुसार वडाका युवाहरूलाई क्रिकेट, फुटबल, भलिबललगायतका खेलकुद गतिविधि सञ्चालन गर्न उपयुक्त स्थानको अभाव छ। खेलकुदप्रति रुचि र क्षमता हुँदाहुँदै पनि आवश्यक पूर्वाधार नहुँदा युवाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउन सकेका छैनन्।

खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई युवाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै विश्वकर्माले विद्यालय परिसरमा खेल मैदान निर्माण गर्न सके विद्यार्थी र स्थानीय युवा दुवै लाभान्वित हुने बताउनुभयो।

यसै आवश्यकतालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयमार्फत खेल मैदान निर्माणका लागि ५ लाख रुपैयाँ बजेटको पहल गरिएको उहाँले जानकारी दिनुभयो।

विश्वकर्माले बजेटको पहल हुनु सकारात्मक भए पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान स्थानीय सरकार, वडा कार्यालय, विद्यालय प्रशासन, युवा तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

उहाँले खेल मैदान निर्माणको योजनालाई साझा अभियानका रूपमा अगाडि बढाउन आग्रह गर्दै विद्यालयको जग्गा, प्राविधिक पक्ष तथा आवश्यक प्रक्रियामा सम्बन्धित सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभएको छ।

कौवाघारीमा खेल मैदान निर्माण हुन सके स्थानीय बालबालिका, विद्यार्थी तथा युवाहरूलाई खेलकुदमा आकर्षित गर्न सहज हुनेछ। यसले स्थानीय स्तरमै खेल प्रतियोगिता सञ्चालन गर्न, नयाँ प्रतिभा पहिचान गर्न तथा अनुशासित र सक्षम खेलाडी उत्पादन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको अर्का युवा रमेश नेपालीको भनाइ छ ।

 

तपाईंको प्रतिक्रिया