ब्राजिलमा एकैदिन दुई हजारभन्दा धेरैकाे ज्यान गयाे

 फागुन २७, २०७७

काठमाण्डाै ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढेको छ । ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक एकैदिन दुई हजारभन्दा धेरैको सङ्क्रमणका कारण ज्यान गएको छ । बुधवार ब्राजिलमा सङ्क्रमणका कारण दुई हजार दुई सय ८६ जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ । अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै छ ।

कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७० पुगेको छ । विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै सङ्क्रमण दर बढेको हो । बुधवार ब्राजिलका पूर्वराष्ट्रपति लुइज लुला द सिल्भाले वर्तमान राष्ट्रपति जेर बाेलसेनाराेमाथि काेराेना भाइरसलाई लिएर गरेकाे निर्णयलाई ‘बेबकुफी’ काे संज्ञा दिनुभएकाे छ । बुधवार राष्ट्रपति बाेलसेनाराे यस महिनामा पहिलाे पटक मास्क लगाएकाे देखिएकाे छ ।

बाेलसेनाराेले काेराेना भाइरसलाई सामान्य रूपमा आँकलन गर्दै आउनुभएकाे छ । भर्खरै मात्र उहाँले काेराेनालाई लिएर मानिसहरूलाई अनावश्यक हल्ला गरेकाे भन्दै आलाेचना गर्नुभएकाे थियाे । ब्राजिलको प्रमुख सार्वजनिक स्वास्थ्य केन्द्र फियोक्रुजले कोरोना सङ्क्रमण दर बढेका कारण देशका ठूला सहरमा स्वास्थ्य प्रणालीमा निकै दबाब परिरहेको बताएको छ । केही सहरको अवस्था कठिन अवस्थामा पुगेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया