सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
काठमाण्डौ,२ जेठ ।
आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आज दिउँसो साढे ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रमकै आधारमा बजेटमा कार्यक्रम समावेश हुने भएकाले यसलाई महत्वका साथ हेर्ने गरीन्छ ।
यो वर्ष कोरोना भाइरसको महामारीका कारण चौपट भएको अर्थतन्त्र उकास्न विशेष व्यवस्था सहित नीति तथा कार्यक्रम आउने अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताइसक्नुभएको छ ।
नीति तथा कार्यक्रममा कोरोनाविरुद्ध लड्नको लागि स्वास्थ्य क्षेत्रमा विशेष व्यवस्था सहितको नीति आउने अपेक्षा छ । यस्तै सुलभ सार्वजनिक स्वास्थ्य र पूर्वाधारलाई जोड दिइएको मन्त्रालयले जनाएको छ ।
नीति तथा कार्यक्रममा आर्थिक गतिविधिमा पुनर्जागरण ल्याउने र अर्थतन्त्र गतिशील बनाउने गरी विशेष नीति आउने अपेक्षा छ । यस्तै व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आयलाई नै सरकारको मुख्य आय स्रोत बनाउने गरी नीति आउने अनुमान छ ।
कोरोनाले चौपट बनाएको व्यवसायलाई करछुट, सहुलियतमा ऋण दिने, कृषी उद्यम बढाउन प्रोत्साहन गर्ने लगायतका कार्यक्रमलार्य सहयोग पुग्ने गरी नीतिमा जोड दिइएको सरकारले जनाएको छ ।
तपाईंको प्रतिक्रिया