‘मेरी चार वर्षकी छोरीका लागि भए पनि मलाई बचाइदिनुहोस्’

 १८ घण्टा अगाडि

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–११, हस्नापुर निवासी २३ वर्षीया अमृता भण्डारी (सुनार) यतिबेला स्तन क्यान्सर (Breast Cancer) सँग जीवन–मृत्युको संघर्ष गरिरहेकी छन्। हाल उनको भारतको नयाँ दिल्लीस्थित अस्पतालमा उपचार भइरहेको छ।

चिकित्सकका अनुसार उनको उपचारका लागि करिब २० देखि २५ लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ। तर कमजोर आर्थिक अवस्थाका कारण परिवारले उपचार खर्च जुटाउन सकिरहेको छैन।

परिवारका अनुसार अमृताले अन्तरजातीय विवाह गरेपछि माइती परिवारबाट साथ र सहयोग पाउन सकेकी छैनन्। विवाह भएको आठ वर्ष बितिसक्दा पनि माइतीसँग सम्बन्ध स्थापित हुन नसकेको र उपचारमा समेत कुनै सहयोग प्राप्त नभएको जनाइएको छ। उनी विवाह गरेर आएको परिवार पनि सामान्य आर्थिक अवस्थाको भएकाले महँगो उपचार धान्न कठिन भइरहेको छ। उनका पति सवारी चालका रुपमा काम गर्छन् ।

अमृताकी चार वर्षीया एक छोरी छिन्। आफ्नी सानी छोरीलाई सम्झँदै उनले भावुक हुँदै भनेकी छन्, “मेरो एक्लो ज्यान मात्रै भएको भए मलाई आफ्नो जीवनको यति धेरै माया हुने थिएन। तर मेरी चार वर्षकी छोरीका लागि भए पनि म बाँच्न चाहन्छु। कृपया मलाई बचाइदिनुहोस्।”

अमृताको उपचारका लागि परिवार तथा शुभेच्छुकहरूले देश–विदेशमा रहेका सबै नेपालीसँग आर्थिक सहयोगको अपिल गरेका छन्। सहयोग गर्न सक्नेले आर्थिक सहयोग गरी  सहयोगी मनहरूसम्म पुर्‍याइदिन आग्रह गरिएको छ।

तपाईंको प्रतिक्रिया