लकडाउनको सदुपयोग गर्दै महिलाहरु गिट्टी कुट्न ब्यस्त

 जेठ ०२, २०७७

हिरा परियार, रुकुम पश्चिम,२ जेठ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडि बजारका दर्जनौ महिलाहरु लकडाउनको सदुपयोग गर्दै बिभिन्न ठाउँमा गिट्टी कुट्न थालेका छन । नगरपालिका ९ राडि बजारमा बस्दै आएका महिलाहरुले लकडाउनको समयलाई सदुपयोग गर्दै बिभिन्न ठाउँ गिट्टी कुट्न थालेका हुन । यो समयमा यहाँका महिलाहरुले घरको नजिक र सडकको छेउछाउमा गिट्टी कुट्ने काममा जुटिरहेका छन । सुतेर , बसेर दिन बिताउनु भन्दा पैसा पनि हुने र स्वास्थ्य पनि राम्रो हुने भएकोले गिट्टी कुट्न थालेको स्थानिय अनिता शाहले बताउनुभएको छ ।

घरमा बस्दा बस्दा बोर लागे पछि केहि दिन अगाडि बाट गिट्टी कुट्ने काममा लागेको उहाँको भनाई छ । उहाँका अनुसार एक ट्याक्टर गिट्टी, ६ हजार रुपैयाँमा बिक्रि हुने गरेको छ । २ हप्ताकोे अबधिमा १ टयाक्टर भन्दा धेरै गिट्टी कुटिसकेको उहाँले बताउनुभयो । बिहान देखि साझँ सम्मगिट्टी कुट्ने काममा व्यस्त हुने गरेको उहाँले बताउनुभयो । बिहानको खाना खाएर दिन भरी साथी छिमेकी संग गफ गरेर दिन बिताउनु भन्दा गिट्टी कुट्नु फाइदा ठानेर गिट्टी कुट्ने काममा लागेको अर्की स्थानिय दिपा परियारले बताउनुभयो ।

यस्तै लकडाउनको समयमा सुतेर दिन बिताउनु भन्दा गिट्टी कुटेर समयको सदुपयोग गर्नको लागि गिट्टी कुट्न थालेको स्थानीय र्दुपती परियारको बताउनभयो । गिट्टी कुट्ने काममा खासै भिडभाड पनि नहुने र एक्लै काम गर्न सकिने भएकोले गिट्टी कुट्ने काम थालेको परियारले भनाई । लकडाउनको सदुपयोग गर्दै यहाँका दजनौ महिलाहरु आ–आफ्नो घरको नजिक गिट्टी कुट्ने काममा जुटि रहेका छन ।

तपाईंको प्रतिक्रिया