कसरी प्रयोग गर्ने पुदिना ?

 बैशाख २४, २०७७

वसन्त ऋतुको आगमनसँगै वनस्पतीहरुमा हरीयाली छाउँछ । घरवरिपरी झारपातहरु जताततै उम्रिन्छ । त्यहीँ झारपातहरुकै माझमा हल्लक हुर्किने हरियो वर्णको वनस्पिति हो पुदिना । सामान्यतः यसलाई कसैले खेती गरेको पाईदैन । उपयुक्त वातावरणमा यो आफै उम्रिएको पाईन्छ । तर यसलाई चिन्न नसक्दा, यसको औषधीय फाईदाहरुको बारे नजान्दा र प्रयोग गर्ने विधिहरु थाहा नपाएर घरवरिपरी कै प्रभावकारी जडुबुटी पुदिना त्यसै खेर गईरहेको हुन्छ ।

तुलसीकै जातमा पर्ने पुदिनालाई संस्कृतमा पूतिहा र हिंन्दीमा पुदिना भनिन्छ । पुदिनाको वैज्ञानिक नाम मेन्था स्पाईकेटा हो । अंग्रेजीमा पुदिनालाई नै स्पियर मिन्ट वा गार्डेन मिन्ट भनिन्छ । पुदिनाको अन्य प्रजाती पनि हुन्छन् । मेन्था पिपरिटाबाट पिपरमिन्ट निकालिन्छ ।

एकैबर्षमै पटक पटक उर्मिने पुदिना सदाबहार झाडीदार(स्र्ब) कडा डाँठ भएको वनस्पति हो । पुदिनाको बोटको उचाई १ दखि २ फिटको हुन्छ । हल्का लाम्चो, सुगन्धदायी ग्रन्थीयुक्त खस्रो पात युक्त पुदिनामा फुल पनि लाग्दछ ।

पुदिनाको मूल स्थान इंगलैण्डको उत्तरी भूभाग भएपनि अहिले नेपाल र भारतका लगभग सबै स्थान एवं बगैंचाहरुमा यो पाइन्छ ।

पुदिनाको प्रयोज्य अंग भनेको पात नै हो । पातमा सुगन्धीत तेल पाइन्छ जसले गर्दा यसको पात टिप्दा कडा सुगन्ध आउने हुन्छ । त्यको अलावा पुदिनाको पातमा प्रोटिन, फ्याट, कार्बोहाईड्रेट, मिनिरलस, क्यालसियम, फस्फोरस, आईरन, कैरोटिन (भिटामिन ए), निकोटिनिक एसिड, राईबोफ्लेविन, मियामिन, कपर आदि तत्वहरु पाईन्छन् ।

आयुर्वेद सिद्धान्त अनुसार पुदिनामा कफ र वातलाई घटाउने गुण हुन्छ । स्वादमा हल्का पिरो हुने पुदिनाको सेवनले तत्काल चिसो अनुभुति भएपनि यसले अन्ततः शरीरमा उष्णता दिन्छ । यो शरीरमा छिटै पचेर जाने हुन्छ ।

पुदिनाको पातको रस ५ देखि १० मि.लि., काढा २० देखि ४० मि.लि., तेल १ देखि ३ थोपाको मात्रा प्रयोग गर्नु स्वस्थकर हुन्छ ।
पुदिनाले खानामा रुचि बढाउँछ, आमाश्यको अग्नीबल बढाउँछ, उल्टी रोक्छ, पेटमा भरिएको ग्याँस पादको रुपमा निष्कासन गराउँछ । यसको साथै पुदिनाको सेवनले शरीरमा संचित अधिक कफ बाहिर फाल्छ (अतः रुघाखोकी, हिक्कमा पनि यसको प्रयोग गरिन्छ), पटक पटक पिसाब लगाएर शरीरको अधिक पानी फाल्छ एवं बच्चा पाएर खुकुलो बनेको पाठेघरलाई खुम्चयाउँछ । ज्वर घटाउन एवं शरीरको बिष मार्न पनि पुदिनाको प्रयोग गरिन्छ । पेटको कीरा मार्न पनि यसको प्रयोग प्रभावकारी हुन्छ । हृदयको दुर्बलता हटाउँन पनि यसको प्रयोग गरिन्छ ।

पुदिनाले दुखाई घटाउँछ, दुर्गन्ध नाश (मुख, काँखी, आदिको) गर्दछ, किटानु नाश गर्नुको साथै घाउ पकाउँछ । दुखाईयुक्त महिनावारी सहज हुन्छ, प्रसुति महिलामा आउने ज्वर शान्त गराउँछ ।

पुदिनको पात टिपेर ल्याई घोई पखाली चिया एवं काढाको रुपमा पटक पटक सेवन गर्न सकिन्छ । चट्नीको रुपमा पिसेर खानासँग खान सकिन्छ । पातबाट डिस्टिलेसन विधिबाट तेल निकाली आवश्यकता अनुसार खान वा लगाउन वा मालिस गर्न सकिन्छ ।

यसरी सम्यक् रुपमा सुलभ एवं निःशुल्क उपल्बध पुदिना झारलाई चिनेर एवं गुनेर प्रयोग गर्नसके शरीर, मन र इन्द्रीय सक्रिय एवं स्वस्थ राख्न सकिन्छ ।

तपाईंको प्रतिक्रिया