सलहबाट सबैभन्दा बढी असर दाङमा

 असार २०, २०७७

काठमाण्डाै,२० असार ।

सलह कीराले अहिलेसम्म ११ सय १८ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा नोक्सानी गरेको छ । अहिलेसम्म ५ जिल्लाका ११ सय १८ हेक्टर क्षेत्रफलमा नोक्सानी पुगेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सबैभन्दा धेरै दाङमा ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको मकै तथा तरकारी बालीमा सलहले नोक्सानी पुर्याएको छ भने मकवानपुरमा १ सय ५ हेक्टर क्षेत्रफलमा लगाइएको मकै तथा तरकारी बालीमा सामान्यदेखि मध्यम खालको नोक्सानी पुरयाएको छ ।

प्युठानमा २ सय ८३ हेक्टर क्षेत्रफलमा लगाइएको मकै, फलफुल र भटमास खेतीमा सामान्यदेखि मध्यमखालको क्षति पुगेको केन्द्रले जनाएको छ । अर्घाखाँचीमा १ सय हेक्टरमा मकै तथा तरकारी बालीमा क्षति पुगेको छ । अर्घाखाँचीमा भने अझै सलह कीरा सक्रिय छ ।

पाल्पामा पनि ५० हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा सामान्य क्षति गरेको छ । रोल्पा, सिन्धुली, रुपन्देही, कपिलवस्तुमा पनि नोक्सानी गरेको भए पनि कति हेक्टरमा लगाइएको बालीमनालीमा नोक्सानी गर्यो भन्ने केन्द्रले खुलाएको छैन ।

सलह कीरा अहिलेसम्म ५२ जिल्लामा छरिएको भए पनि ससाना भुण्डहरु भएकाले धेरै नोक्सानी हुन नपाएको केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा फैलिएका सलह कीराको झुण्ड कतै केही हजार र कतै केही लाखको संख्यामा रहेकाले धेरै क्षति हुन नपाएको केन्द्रका किटविज्ञ रामकृष्ण सुवेदीले बताउनुभयो । भारतबाट ५ वटा झुण्डमा आएका सलह नेपालका विभिन्न ठाउँमा फैलिएका छन् ।

सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले भारतबाट अर्को सलहको झुण्ड नेपाल आउने सम्भावना टरेको बताउनुभएको छ । भारतको इटहवामा रहेको सलहको झुण्ड दक्षिणतर्फ मोडिएर मध्य प्रदेशतिर पुगेकाले नेपालमा आउने सम्भावना टरेको उहाँले बताउनुभयो । मनसुन तथा हावाको दिशामा नाटकीय परिवर्तन आएमा मात्र नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने उहाँको भनाई छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय