युवतीलाई एसिड हान्नेहरु पक्राउ
काठमाडौं, ९ साउन ।
काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् ।
उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् । उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् । बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।
भारत भाग्ने योजना
एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी हुलिया परिपत्र गरेको थियो । मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ । युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो । मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएका थिए । आफू भने अलि परै बसे । त्यसपछि मुन्नालाई मोटरसाइकलमा राखेर उनले डल्लु लगेका थिए । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको थियो । तर उनीहरु उम्किन पाएनन् ।
तपाईंको प्रतिक्रिया