भेटियो गोंगबुमा फेला परेको शवको टाउको

 साउन २६, २०७७

काठमाडौं, २६ साउन ।

गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि बढेपछि नवज्योति मार्ग आउँछ । आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश फेला पारे ।

उनले तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापालगायत अधिकृतहरु कहाँ पुग्यो ।

जघन्य अपराधको संकेत पाएका ज्ञवाली र थापा आफैं घटनास्थलमा खटिए । फरेन्सिक विज्ञ र केन्द्रीय कुकुर तालिम केन्द्रका टोलीलाई पनि त्यहाँ बोलाइयो । त्यतिञ्जेलसम्म सुटकेश खोलिएको थिएन ।

तर, सुटकेशमा शव भएको कुरामा कुनै द्विविधा थिएन । ‘कुकुरलाई सुँघाएर अनुसन्धान गर्न सजिलो होस् भनेर हामीले सुटकेश खोल्न हतार गरेनौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग सुनाए, ‘सबै टोली पुगेपछि खोल्दा सुटकेशमा टाउको र खुट्टाविनाको शव भेटियो ।’

सुटकेशभित्रको शव अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको भएको चिकित्सकले अनुमान गरे । तर, टाउको नभेटिइ अनुसन्धानलाई अघि बढाउन गाह्रो थियो ।

कुकुरले भेट्यो टाउको र खुट्टा

शवको अन्य भाग कहाँ गयो त ? यो पत्ता लगाउन प्रहरीले विशेष तालिम प्राप्त जोजो नामक ट्याकर कुकुरको सहारा लियो । प्रहरीले यो कुकुर ०७४ सालमा बेलारुसबाट खरिद गरेको थियो ।

सुटकेश सुँघाएर छाडिएको कुकुर तीन सय मिटर पर गएर रोकियो, जहाँ अर्को जेब्रा झोला भेटियो । ‘झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटियो’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘टाउको भेटिएसँगै अनुसन्धान एक चरण अघि बढेको छ, टाउको नभएको भए, सनाखत गर्नै धौधौ पर्थ्यो ।’

दुवै स्थानमा भेटिएको शवको टुक्राको अवलोकनबाट फरेन्सिक विज्ञले घटना पछिल्लो १२ घण्टाको अवधिमा भएको हुनसक्ने निष्कर्ष निकालेका छन् । यद्यपि, यसबारे विस्तृत विवरण पोष्टमार्टम रिपोर्टले नै खुलाउनेछ । हाल पोष्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको छ ।

शवको प्रकृति हेर्दा खुट्टा एकैपटकमा छिनाएको जस्तो देखिएको छ । त्यसैले यो घटनामा हतियार चलाइराख्ने व्यवसायिक व्यक्ति संलग्न हुनसक्ने अनुमान गरिएको छ । ‘मासु काट्ने वा निरन्तर हतियार चलाएका व्यक्ति नै यसमा संलग्न हुनसक्छन्’, स्रोत भन्छ, ‘तर सनाखत नभइ यकिनका साथ भन्न हतारो हुन्छ ।’

सनाखत गर्ने प्रयासमा प्रहरी

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार अहिले शवको सनाखत गर्ने प्रयास जारी छ । यसका लागि बेपत्ता व्यक्तिहरुको फाइल प्रहरीले पल्टाइरहेको छ । घरबाटै कोही हराएको भए खबर गर्न अनुरोध गरेको छ ।

पछिल्लो पटक अपहरण भएको कुनै घटना पनि प्रहरी कहाँ रिपोर्ट भएको छैन । त्यसैले प्रहरीले अहिले प्राविधिक पक्षको विश्लेषणबाट अनुसन्धान गरिरहेको छ ।

अनलाईनखबर बाट

तपाईंको प्रतिक्रिया