वामदेव गौतमद्धारा रचित गीत “यो बुद्ध भूमि” सार्वजनिक

 भदौ १२, २०७७

काठमाडौं, ११ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेकपाका उपाध्यक्ष वामदेवद्धारा रचित गीत ‘यो बुद्ध भूमि’को भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक गरिएको गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ।

गाैतमले लेख्नुभएको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भर्नुभएको छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुनुहुन्छ । गीतमा रोशनराज गुरुब ,माण्डवी त्रीपाठी र अंजना गुरुबलगायतको स्वर रहेको छ । दीर्घ गुरुबले खिचेको गीतलाई जीवन थापाले सम्पादन गर्नुभएको छ ।

त्यस्तै गौतमले आफ्ना ४३ गीतहरुलाई एकीकृत गरि गीति संग्रह पनि प्रकाशनमा ल्याउनुभएको छ । जसमा सार्वजनिक भएका गीतहरु र हुन बाँकी सबै समावेश गरिएको छ । विशेष त गीतहरु राष्ट्रिय भावहरुले भरिएका शब्दहरुमा बढि रचित छन् । त्यस लगायत कला साँस्कृतिक, सामाजिक र आर्थिक उन्नतीका लागि पनि रचित गरिएको छ ।

राजतन्त्रको अन्त्य पछि उदय भएको लोकतन्त्रको शुरुवातमा पुरानो राष्ट्रिय गीतलाई परिवर्तन गर्न नयाँ राष्ट्रिय गीतको विकल्प खोजियो । जसको लागि साहित्यकार मोदनाथ प्रश्रित निर्णायक समितिमा रहनुभएको थियो । उक्त प्रतिष्पर्धाको लागि गौतमले पनि “प्राण प्यारो देश नेपाल” बोलको गीत लेखेर पठाउनुभएको थियो । तर, उक्त गीत छनौटमा भने परेन । त्यहिँबेलादेखि गौतमको गीति यात्रा शुरु भएको थियो ।

विद्यालयस्तरदेखिनै गीत संगीत र कवितामा रुची राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पुरा भएको बताउनुभएको छ । उहाँले सानै बेलादेखिको रुचीलाई अहिले राजनीतिसँगै अघि बढाईरहेको पनि बताउनुभएको छ ।

तपाईंको प्रतिक्रिया