नेपालको तेस्रो लामो झोलुङ्गे पुल दाङमा बन्दै

 कार्तिक १९, २०७७

तुलसीपुर ।

लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका १ काे बडहरा र राप्ती गाउँपालिका ३ काे खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ । याे पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर हुने छ । पुलमा जम्मा ११ वटा पिलर रहने छन्, जसमा फुटपाथका लागि पाँच वटा पिलर, पङ्खाका (साइड विङ) का लागि चार वटा पिलर र मेन ब्लकका लागि दुई वटा पिलर गरी जम्मा ११ वटा पिलर रहने छन् ।

प्रत्येक पिलरको गोलाइ सात सय ५० सेन्टिमिटर रहने छ भने प्रत्येक पिलरको गहिराइ पानीमुनि १६ मिटर रहने छ । पानीमाथि फुटपाथसम्मको पिलरको उचाइ १२ मिटर र फुटपाथदेखि माथि ३५ मिटर उचाइको पाँच वटा टावर रहने छन् । पहिलो पिलरदेखि दोस्रो पिलरसम्मको दुरी तीन सय ८१ मिटर र तेस्रो र चौथो पिलरको दुरी ९०/९० मिटरको दुरीमा रहने छन् । त्यसै गरी अन्य पिलरका दुरी ९९/९९ मिटर दुरीमा रहने छन् ।

याे पुल नेपालको तेस्राे लामो झोलुङ्गे पुलका रुपमा चिनिने भएको छ । नेपालमा पहिलो लामो झोलुङ्गे पुल महाकाली नदीमा बनेको दोधारा–चाँदनी हो, जसकाे लम्बाइ एक हजार चार सय ४० मिटर रहेको छ । दोस्रो लामो झोलुङ्गे पुल इलाम जिल्लाको माई खोलामा निर्माण भइरहेको छ, जसकाे लम्बाइ आठ सय २० मिटर रहेको छ । यी दुवै पुलको निर्माणको जिम्मा थानी निर्माण सेवा काठमाण्डौले पाएको छ ।

राप्ती नदीमा निमार्ण कार्य सुरु भएको झोलुङ्गे पुलको कुल लागत आठ करोड २७ लाख रहेको निर्माण सेवाका साइट इन्चार्ज विक्रम बस्नेतले जानकारी दिनुभएकाे छ ।

तपाईंको प्रतिक्रिया