डोल्पाका विद्यालय खुल्दै

 कार्तिक २४, २०७७


डोल्पा ।

गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो ।

लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।

नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं १ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाई गरेर सञ्चालनमा ल्याइएको उनको भनाइ छ । अर्को ठूलीभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन् ।

प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठूलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ । तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन् ।

तपाईंको प्रतिक्रिया