सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाब

 मङि्सर २५, २०७७

तुलसीपु्र ।

सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले जानकारी दिएको छ ।अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।

मन्त्रालयले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।

तपाईंको प्रतिक्रिया