कनौडियाको चिनी मिलले अनुदानसमेत हिनामिना गर्‍यो

 पुष ०५, २०७७

काठमाडौं ।

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा उद्योगी वीरेन्द्रकुमार कनौडियाको चिनी मिलले किसानलाई दिनुपर्ने अनुदानबापतको साढे २ करोड रुपैयाँ सरकारबाट लिएर हिनामिना गरेको भेटिएको छ । कनौडियाको महालक्ष्मी सुगर्स कपिलवस्तुले किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने भन्दै करिब साढे २ करोड रुपैयाँबराबरको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिएको सरकारी रेकर्ड छ । तर, सो रकम उसले किसानलाई भुक्तानी नगरी हिनामिना गरेको हो ।

महालक्ष्मी सुगर्स कपिलवस्तुले आर्थिक वर्ष ०७१/७२ मा नेपाली किसानबाट ९ लाख ९२ हजार ९ सय ५६ क्विन्टल उखु खरिद गरेको थियो । उद्योगले प्रतिक्विन्टल २५ का दरले २ करोड ४८ लाख २३ हजार रुपैयाँ उखु विकास प्रवद्र्धन खर्च (किसानले पाउने अनुदान)लाई भ्याटमा समायोजन गरेको आन्तरिक राजस्व विभागले जनाएको छ । त्यसवेलाको कानुनी व्यवस्थाअनुसार उद्योगले भ्याट फिर्ताबापत रकम पाउने र सो रकम सरकारी अनुदानका रूपमा किसानलाई वितरण गर्नुपर्ने व्यवस्था थियो । कपिलवस्तुका किसानले मिलबाट अनुदान नपाएको भन्दै सरकार गुहार्दै आएका छन् । सरकारी रेकर्डमा समेत मिलले किसानलाई रकम भुक्तानी गरेको देखिन्न ।

कपिलवस्तुका करिब ८ हजार किसानले कनौडियाको महालक्ष्मी सुगर्स मिलबाट उखुको बिक्रीबापतको थप ४ करोड ५० लाख रुपैयाँसमेत पाउन सकेका छैनन् । चिनी मिलले सरकारी अनुदान र उखु किसानको बक्यौता गरी ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानको दाबी छ । आन्तरिक राजस्व विभागले समेत उद्योगले किसानलाई दिने अनुदानबापतको रकमबराबर करमा कट्टा गरी समायोजन गरेको उल्लेख गरेको छ । तर, उद्योगले भने उखुको कत्ति पनि बक्यौता नरहेको तथा अनुदानबापतको रकम सरकारले नै दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।

nayapatrikadaily

तपाईंको प्रतिक्रिया