आन्दोलनका थप कार्यक्रम घोषणा गर्न प्रचण्ड-माधव पक्षधरको बैठक बस्दै

 पुष १५, २०७७

काठमाडौं ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आन्दोलनका थप कार्यक्रम घोषणा गर्न स्थायी कमिटी बैठक बोलाएको छ । मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले ‘ओली प्रतिगमन’विरुद्ध थप सशक्त कार्यक्रम तय गर्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् ।

४४ सदस्यीय नेकपा स्थायी कमिटीमा पार्टी विभाजनपछि उपाध्यक्ष बामदेव गौतम बाहेक अन्य सबै नेताहरुले आ आफ्नो कित्ता प्रष्ट पारिसकेका छन् । प्रचण्ड माधव नेपाल पक्षमा २७ जना स्थायी कमिटी सदस्य खुलेका छन् भने केपी ओलीको पक्षमा १६ जना स्थायी कमिटी सदस्य खुलेका छन् ।

कार्की पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले महासचिव चयन लगायत नेताहरुको कार्यविभाजन र कमिटी पुनर्गठनको जिम्मा पनि स्थायी कमिटीलाई नै दिएको छ । अहिलेसम्म प्रचण्ड माधव पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाउने बाहेक अरु कुनै नेतालाई हटाएको छैन ।

तपाईंको प्रतिक्रिया