बिप्लब र सरकार दुबैको तर्फबाट वार्ता समिति गठन
तुलसीपुर ।
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले पनि सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने सदस्य रहनुभएको छ । सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि समिति बनेको जानकारी दिनुभएको छ । विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले पनि टोली गठन गरेको छ ।
सरकार र विप्लव नेकपा दुवै वार्ताका लागि सकारात्मक भएपछि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा २ सदस्यीय वार्ता टोली घोषणा गरेको हो । सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले निकालेको विज्ञप्तिमा थापा नेतृत्वको वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको उल्लेख छ । हिंसात्मक गतिविधि गर्न थालेपछि विप्लव नेतृत्वको नेकपामाथि २०७५ साल फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको थियो ।
सञ्चारमन्त्री पार्वत गुरुङले समूह माथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने बताउनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा फुट आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको प्रयास थाल्नुभएको थियो । यसअघि पनि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा भूमिगत समूहहरुसँग वार्ता गर्ने भन्दै समिति बनाएको थियो । तर, विप्लव समूहसँग स्पष्ट संवाद हुन सकेको थिएन ।
तपाईंको प्रतिक्रिया