आमासंगै कर्णाली नदिमा हेलिएकी रजनी अझै फेला परिनन्

 चैत ०१, २०७७

दैलेख । सात दिनअघि आमासँगै कर्णाली नदीमा हेलिएकी आठबीस नगरपालिका–३ निमायलकी ७ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । तर, रजनीसँगै नदीमा हामफालेकी आमा सुकी, सरिता, कल्पना र ललितको गएको बुधबार कर्णाली नदीको तीरमा संयुक्त दाहसंस्कार गरिएको छ ।

गोताखोरको टोलीसमेत आएर खोजतलास गर्दा शव नभेटिएको वडा नम्बर–३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले बताए । सुकी आफ्ना चार छोराछोरीसहित सात दिनअघि कर्णाली नदीमा हामफालेकी थिइन् । सोमबार छोरी कल्पना र सरिता तथा मंगलबार सुकी र छोरा ललितको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ बेलखेतस्थित कर्णाली नदीको तीरमा भेटिएको थियो । कान्छी छोरी रजनीको शव सात दिन बितिसक्दा भेटिएको छैन ।

चार छोराछोरीसहित कर्णाली नदीमा अस्ताएका बडुवाल परिवारबारे गाउँघरका स्थानीयवासी बोल्न डराउँछन् । केही बोलेपछि प्रहरीले सोधपुछ गरेर झमेला गर्छ भनेर सुकीबारे सोधखोज गर्दा चुपचाप हुन्छन् । गाउँघरमा पछिल्लो समय बडुवाल परिवारको मृत्युले गाउँमा डरत्रास छ ।

सुकी आत्महत्या गर्नुको मुख्य कारण मदिरा र घरेलु हिंसा भएको स्थानीयको बुझाइ छ । श्रीमान्ले मदिरा सेवन गरेपछि श्रीमतीसहित बालबालिकालाई कुटपिट गर्ने हुँदा आफूले मर्ने योजना बनाएपछि बालबालिकालाई चाउचाउ खुवाउँदै हात बाँधेको पहिला छोरीलाई धकलेपछि छोरासहित आफूले हाम फालेको हुन सक्ने केही स्थानीयवासीको अनुमान छ । राजधानी बाट

तपाईंको प्रतिक्रिया