स्वास्थ्य मन्त्रालयले भन्याे-होलीमा माया बाँडौँ

 चैत १४, २०७७




काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिन सक्ने भन्दै यस पटकको होली सजगताका साथ मनाउन आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले होलीमा हुल र ठूला जमघटबाट टाढा रहन अनुरोध गरेको हो । स्वाथ्य मन्त्रालयले भनेको छ, ‘कोरोना संक्रमणको खतरा हुलहरुमै बढी हुन्छ, कोरोनालाई फैलिन नदिऔँ, सजगताका साथ होली मनाऔँ ।’
मानिसहरुको भीडभाड बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सामूहिक रुपमा होली नमनाउन आग्रह गरेको हो । ‘यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौँ, माया बाँडौँ, कोरोना होइन ।’

पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सरकारले सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । नेपालमा पनि कोरोना संक्रमण दर केही वृद्धि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइसाथ पालना गर्न उनीहरूको सुझाव छ । त्यस्तै सार्वजनिक यातायात क्षेत्र र शिक्षण स‌ंस्थामा कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै सरकारले जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

तपाईंको प्रतिक्रिया