विश्वमा कोरोना सङ्क्रमित हुनेको संख्या ३० करोड नाघ्यो

 पुष २४, २०७८

काठमाण्डाै /  विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको संख्या ३० करोड नाघेको छ । दुई वर्ष अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० करोड ३८ लाख पुगेको वर्ल्डओमिटरले जनाएको छ ।वुहानबाट शुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएर विश्वका सबैजसो क्षेत्रमा पुगेको छ ।

अमेरिकामा मात्रै ६ करोड भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । भारतमा साढे तीन करोड र ब्राजिलमा दुई करोड २४ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । विश्वमा संक्रमण पुष्टि भएकामध्ये ५४ लाख ९७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । झण्डै २६ करोड निको भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोपको आविष्कार गरेर विश्वभर नै खोप अभियान पनि चलिरहेको छ । खोप अभियानसँगै विश्वमा महामारीको प्रभाव कम हुँदै गइरहेको बेला फेरि नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीको नयाँ लहर चल्न थालेको छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको फैलने क्रम निकै तिब्र भएको भन्दै रोकथामका लागि सावधानी अपनाउन आग्रह गरेको छ । 

तपाईंको प्रतिक्रिया