स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान

 माघ १८, २०७८

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यकता पर्ने अनुमान गरेको छ। मंगलबार प्रधानमन्त्री शरेबहादुर देउवासँग आयोगका पदाधिकारीले गरेको परामर्शमा उक्त अनुमानित खर्च पेश गरिएको हो ।

२०७४ सालमा सम्पन्न निर्वाचनमा ८ अर्ब भन्दा बढी रकम खर्च भएको थियो। आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भएको छलफलमा आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने समहमति भएको छ। आयोगले एकै चरणमा निर्वाचन हुन नसकेमा अनुमानित खर्च थप बढ्न सक्नेसमेत बताएको छ।

निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने हुँदा २०७४ पछि उक्त शीर्षकहरुमा करिव ३० प्रतिशतले वृद्धि भएकाले यस्तो अनिवार्य खर्चमा थप बजेट आवश्यकता पर्ने आयोगले जनाएको छ।

तपाईंको प्रतिक्रिया