आईपीओ खुल्न थाल्यो

 माघ २१, २०७८

काठमाडौँ । करिब ६ महिनासम्म रोकिएको प्राथमिक सेयर (आईपीओ) शुक्रबारबाट खुल्न थालेको छ । शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुलेको छ । सो कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सोमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

कम्पनीको आईपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । एक व्यक्तिले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार २२० कित्तासम्म आवेदन दिन सकिनेछ ।

सो कम्पनीको आईपीओ बिक्री बन्द भइसकेपछि अर्थात माघ २६ गतेदेखि इमर्जिङ नेपालको खुल्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ५ लाख ५५ हजार ६ सय कित्ता अर्थात ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ । फागुन १ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

त्यस्तै माघ २७ गतेदेखि प्रभावित स्थानीयका लागि बलेफी हाइड्रोपावरको आईपीओ खुल्ने भएको छ । स्थानीयका लागि आईपीओ खुलाइसकेपछि सर्वसाधारणका लागि कम्पनीले आईपीओ निस्कासन गर्नेछ ।

अरु ३ कम्पनीको आईपीओ पनि दुई महिनाभित्रै आउने छ । ग्रीन भेन्चर हाइड्रोपावर, नेस्डो समृद्धि लघुवित्त र राष्ट्रउत्थान सामुदायिक लघुवित्तको आईपीओ आउने छ ।

तपाईंको प्रतिक्रिया