झापाको चाउचाउ कारखानामा लागेको आगो झण्डै १२ घण्टापछि नियन्त्रणमा

 माघ २९, २०७८

काठमाण्डाै । झापाको मेचीनगर नगरपालिका-१४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो झण्डै १२ घण्टापछि नियन्त्रणमा आएको छ । आगो निभाउन झापा, मोरङ, सुनसरी र इलामका १२ वटा भन्दा धेरै दमकलकाे प्रयोग गरिएको थियो । मनषा थाइफुड्सले  उत्पादन गर्दै आएको चाउचाउ उद्योगमा आज बिहान झण्डै साढे ४ बजेदेखि विद्युत् सर्ट भएर आग्लागी भएकोमा अहिले बेलुका साढे ४ बजेतिर मात्रै नियन्त्रणमा आएको हो । 

अहिले पनि नियन्त्रणका क्रममा प्लाष्टिकतिर  झिल्काहरु छुटेको हुन सक्ने र त्यसले आगलागी हुन सक्ने भन्दै तीन वटा दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ  ।  आगलागीका कारण सिङ्गो कारखाना र कारखानाभित्र रहेको कच्चापदार्थ, उत्पादित सामान र मेसिन जलेर पूर्णरुपमा नष्ट भएको सञ्चालक बुद्धि घिमिरेले बताउनुभएको छ ।  

आगलागीबाट भौतिक संरचना, कच्चापदार्थ, मेसिनलगायत नष्ट भएको प्रहरीले जनाएको छ । १ अर्ब रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने सञ्चालकले अनुमान गरेको भए पनि यकिन तथ्याङ्क भने आइसकेको छैन । मनषा थाइफुड्सले चिज बल्स र मगमगलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो।

तपाईंको प्रतिक्रिया